
२९ चैत्र,
बाँके — नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन हुने मनोरञ्जनात्मक, सांस्कृतिक तथा कन्सर्ट कार्यक्रमहरूमा अनिवार्य रूपमा मनोरञ्जन कर तिर्नुपर्ने व्यवस्था लागू गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले कन्सर्ट तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दा प्रति टिकट बिक्रीमा रु. २५ का दरले मनोरञ्जन कर लाग्नेछ। उक्त कर लुम्बिनी प्रदेश आर्थिक ऐन, २०८२ को दफा ४ तथा अनुसूची–३ (क) (क्र.सं. २) अनुसार निर्धारण गरिएको हो।
नगरपालिकाले सम्बन्धित आयोजकहरूलाई सो कर नियमअनुसार कार्यालयमा दाखिला गर्न अनुरोध गरेको छ। अन्यथा कानुन बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ।








