
१६ असोज,
बाँके । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले एकैपटक राजीनामा दिएका छन्।
शनिबार दुई वटा विज्ञप्ति जारी गर्दै ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा बुझाएका हुन्।
“पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।
लुम्बिनीका प्रदेश संयोजक अनुपमान सैजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रदेश तथा केन्द्रीय सदस्य हरिकृष्ण अधिकारी, महिला विभाग प्रमुख सरस्वती पन्थी भुषाललगायतले राजीनामा दिएका छन्।
यस्तै गण्डकीका प्रदेश संयोजक शुसिला केसी अधिकारी, केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, अर्जुन खनाल र हरिप्रसाद गौतमले राजीनामा दिएका हुन्।





