
११ बैशाख,
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट सुब्बाकुनामा कार्यरत प्रहरी सहायक हवल्दार राजु देवकोटा २०८२ साल चैत्र महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषित भएका छन्।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उनले व्यावसायिक, इमान्दार, बफादार र कर्तव्यनिष्ठ रूपमा उत्कृष्ट सेवा प्रदान गरेका कारण उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी सहायक हवल्दार देवकोटाले उच्च मनोबल र साहसका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनले प्रभावकारी ट्राफिक व्यवस्थापनसँगै बढ्दो दुर्घटना नियन्त्रणका लागि विभिन्न पहलहरू सञ्चालन गरेका छन्।
त्यसैगरी, स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गरी राजमार्ग क्षेत्रका सडक खण्डहरूमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक बोर्डहरू जडान, ब्ल्याक स्पट बोर्ड निर्माण तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
उत्कृष्ट कार्यसम्पादन, अनुशासन र जिम्मेवारी निर्वाहमा देखाएको सक्रियताका आधारमा “महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनौट मार्गदर्शन–२०८२” बमोजिम उनलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।





