
८ वैशाख,
बाँके अपडेट : बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले भोलि बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताएका छन्। ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल भईरहेको छ। तर ९ गते बिहीबारदेखि लकडाउन हुन्छ ।
डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।
बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।
कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३७५ जनाको परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।