
२९ बैशाख,
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके मातहतको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले लागू औषध (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–५ बनकटुवा क्षेत्रमा शंकास्पद अवस्थामा रहेका व्यक्तिलाई खानतलासी तथा चेकजाँच गर्ने क्रममा लागू औषध र नगद रकम बरामद गरिएको हो।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ निवासी २९ वर्षीय गोबिन्द बहादुर चौधरी रहेका छन्। प्रहरीले उनको साथबाट शुद्ध तौल ८६० मिलिग्राम ब्राउन सुगर तथा नेपाली नगद ३ लाख ९५ हजार ८ सय रुपैयाँ बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार पक्राउ परेका चौधरीमाथि लागू औषध कारोबार सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।








