
२८ बैशाख,
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि उडान र अवतरण प्रभावित भएको छ। अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ।
जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको हुन्। कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भएका छन्।
यस्तै, हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ भने अधिकांश माउन्टेन फ्लाइट डिले भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार अहिले उडान अवतरण बन्द छ, जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार गरिएको छ।
इस्तानबुलबाट काठमाडौं आएको टीके७२६ जहाज आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो। सो आगो दमकल प्रयोग गरी निभाइएको थियो। यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो।
सो जहाजमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए। उनीहरु सबै सुरक्षित रहेको र उद्दारका क्रममा केही यात्रुको हातमा चोट लागेको बताइएको छ। जहाजमा केही शव र धेरै सामानहरु पनि रहेको बताइएको छ।








