
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल ले विभिन्न इकाइबाट बिदा तथा आपतकालीन लाइन स्वीकृत नगरी लामो समयदेखि गैरहाजिर रहेका कर्मचारीहरूलाई हाजिर हुन अन्तिम सूचना जारी गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बिना जानकारी तथा अनुमति कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गरी हाजिर हुन निर्देशन दिइएको हो ।
सूचनामा उल्लेख भएअनुसार तोकिएको समयभित्र सम्पर्कमा नआए वा हाजिर नभएमा प्रचलित सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सेवाबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
सूचनामा विभिन्न जिल्लाका सशस्त्र प्रहरी कर्मचारीहरूको नाम, दरबन्दी, कार्यरत स्थान, स्थायी ठेगाना तथा गैरहाजिर रहेको मिति समेत उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरीले अनुशासन तथा संगठनको मर्यादा कायम राख्न गैरहाजिर कर्मचारीमाथि कडा कदम चालिएको जनाएको छ ।





