
२३ बैशाख,
कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले वडा नं. ११ स्थित नगर विकास समितिको करिब ३६ बिघा अतिक्रमित जग्गाको विस्तृत विवरण सार्वजनिक गर्नुभएको छ। क्रिकेट मैदान आसपासको उक्त क्षेत्र कोहलपुर ३ (ख) अन्तर्गत पर्ने बताइएको छ।
सार्वजनिक विवरण अनुसार व्यक्तिगत लगत संकलनका क्रममा प्राप्त निवेदनका आधारमा ७५१ घर–टहरा पहिचान गरिएको छ। तीमध्ये ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुम्बासी रहेका छन्।
प्रारम्भिक जाँचमा भूमिहीन दलिततर्फ ११ जना र सुकुम्बासीमध्ये १ जनाको अन्य जिल्लामा समेत जग्गा रहेको देखिएको नगरपालिकाले जनाएको छ। बाँकी विवरणको प्रमाणीकरण प्रक्रिया जारी रहेको छ।
नगरपालिकाले एउटै परिवारका सदस्यले अलग–अलग निवेदन दिएको कारण वास्तविक घर–टहराको संख्या करिब ४०० आसपास मात्र हुन सक्ने अनुमान गरेको छ। साथै, केही व्यक्ति र बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, अवैध किनबेच गर्ने र आर्थिक लाभ लिने गतिविधिबारे उजुरी आएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ।
नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कानुनी प्रक्रिया बिना कसैलाई हस्तान्तरण वा बिक्री गर्न नसकिने स्पष्ट पार्दै, अवैध रूपमा रकम संकलन तथा जग्गा कारोबार गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
मिति २०८०/१२/०५ को बोर्ड बैठकको निर्णयअनुसार स्वयं घोषणा सहित निवेदन दिन आह्वान गरिएको थियो। पछिल्लो समय समेत अवैध किनबेच भएको सूचना प्राप्त भएकाले आवश्यक कानुनी प्रक्रिया अघि बढाइने नगर प्रमुख आचार्यले बताउनुभयो ।
वास्तविक सुकुम्बासीको व्यवस्थापनका लागि वैकल्पिक स्थानको पहिचान तथा छलफल जारी रहेको र छिट्टै आवश्यक निर्णय सार्वजनिक गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो।
नगरपालिकाले अतिक्रमित जग्गामा बसोबास गरिरहेका नागरिकलाई भ्रम, दुरुपयोग र राजनीतिक स्वार्थको साधन नबन्न आग्रह गर्दै वास्तविक सुकुम्बासीको उचित व्यवस्थापनका लागि सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।









