
१४ बैशाख,
बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। भारतसँग जोडिएको सीमावर्ती क्षेत्रबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा शंकास्पद व्यक्तिहरूलाई चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको हो।
वैशाख ११ गते राति करिब ९ बजे बढैयाताल गाउँपालिका–६ रानिपुरस्थित सीमा नाकाबाट नेपाल प्रवेश गर्दै गरेका सुर्खेत गुर्भाकोट नगरपालिका–१२ घर भई हाल कोहलपुर–१ बस्ने २३ वर्षीय सन्तोष पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको शरीरभित्र लुकाएर ल्याइएको ५ ग्राम ८७० मिलिग्राम खैरो पदार्थ (ब्राउन सुगर आशंका) फेला परेको प्रहरीले जनाएको छ।
सोही दिन बेलुकी करिब ८ बजे सोही स्थानबाट नेपाल प्रवेश गर्दै गरेका कोहलपुर–६ नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार र १८ वर्षीय सुदिप परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ७४० मिलिग्राम खैरो धुलो पदार्थ बरामद गरिएको छ।
त्यस्तै, वैशाख १३ गते दिउँसो ५:३० बजे राजापुर नगरपालिका–४ आनन्त चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका २४ वर्षीय सागर परियारलाई चेकजाँच गर्दा १३० मिलिग्राम खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मैनापोखर र राजापुरमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रमेश बिष्टले जानकारी दिएका छन्।








