
१४ बैशाख,
बाँके : देशका विभिन्न ठाउँमा घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने अन्य घटनामा ५ जनाको ज्यान गएको नेपाल प्रहरीको केन्द्रीय सञ्चार विभागले जनाएको छ।
बारा : कोल्हवी नगरपालिका- ५ बलुवास्थित सडकमा ककडीबाट बेल्वा बजारतर्फ जाँदै गरेको ना।६४ प ८०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने १९ वर्षीय राम किशोर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी पूर्व : हुप्सेकोट गाउँपालिका-३ चौरंगीस्थित सडकमा लु।३ त ३८५२ नम्बरको अटो र लु ३ त ९८७३ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा अटो चालक सोही ठाउँ बस्ने ४२ वर्षीय दुर्गा बहादुर रानाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी मध्यबिन्दु नगरपालिका- ११ गडर खोलास्थित सडकमा लु१ अ यो १६ नम्बरको टिपरले मप्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बझाङ बित्थडचिर गाउँपालिका-३ घर भएका २३ वर्षीय भुवन बोहराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । प्रहरीले हाल फरार टिपर चालकको खोजी गरिरहेको छ।
कपिलवस्तु : कपिलवस्तु नगरपालिका-८ मैनिहवास्थित सडकमा पकडीबाट तौलिहवातर्फ आउँदै गरेको लु ३१ प ७५०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ पूर्वी मैनिहवा बस्ने ३५ वर्षीय गृजेश कुर्मी र उनकै छोरा ३ वर्षीय आयंश कुर्मी चौधरीको आइतबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ।
चितवन : रत्ननगर नगरपालिका- ३ शान्ति चोकस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-१०-००१ ख ३९०१ नम्बरको बसको ठक्करबाट रिक्सा खैरहनी नगरपालिका-१ डेरा गरी बस्ने पर्सा घर भएका ४३ वर्षीय किसुन महतो थारूको सोमबार बिहान मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की : पोखरा महानगरपालिका-८ सभागृह चोकमा हरिचोकबाट छोरेपाटनतर्फ जाँदै गरेको ग-१ ज ४५६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपलिका-८ सिमलचौर बस्ने सिन्धुली दुधौली नगरपालिका-१ घर भएकी ४५ वर्षीया मायावती कुमरको मृत्यु भएको छ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दिया : बारबर्दिया नगरपालिका(५ मगरागाडी चोकस्थित सडकमा भे २ स २४४८ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही नगरपालिका-६ गुलरा बस्ने ६० वर्षीया उषा थारूको आइतबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डुबेर मृत्यु
रौतहट : दुर्गाभगवती गाउँपालिका- १ पिपराटोल बस्ने गौरीशंखर साह कलवारको छोरा ५ वर्षीय कृष साह कलवारको सोही गाउँपालिका- १ स्थित बह्रमस्थानको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको स्थानीय बागमती सेन्ट्रल अस्पताल गंगापिपरामा उपचारको क्रममा मृत्यु भएको हो।
दैलेख : महाबु गाउँपालिका- ४ गिताचौर बस्ने कमल नेपालीको छोरा ९ वर्षीय रूपेश नेपालीको सोही ठाउँस्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
चट्याङ लागेर मृत्यु
प्युठान : गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ।
आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो।
मृत अवस्थामा फेला
सोलुखुम्बु : सोताङ गाउँपालिका-४ धेर्दो बस्ने ७५ वर्षीय पदम बहादुर राई सोही ठाउँस्थित वतपुर सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरी : कोशी गाउँपालिका-१ लौकहीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।








