
१३ बैशाख,
बाँके : बाँके जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो फैलिँदै जाँदा करिब ४ हजार हेक्टर वन क्षेत्र प्रभावित भएको छ। डढेलोका कारण वन्यजन्तुको बासस्थानसमेत जोखिममा परेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय बाँकेका योजना अधिकृत सुशील सुवेदीका अनुसार एक सातायता सुरु भएको डढेलो शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा फैलिएको छ।
डढेलो नियन्त्रणका लागि प्रयास भइरहे पनि वनको भित्री भागमा लागेको आगो नियन्त्रणमा ल्याउन कठिन भइरहेको उनले बताए। जनशक्ति र स्रोतसाधन अभावका कारण समयमै डढेलो नियन्त्रण हुन नसक्दा क्षति बढिरहेको उनको भनाइ छ।
हाल जिल्लामा १४ जनाको डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ। २००० लिटर क्षमताको ट्याक्टर प्रयोग गरी राजमार्ग आसपासका क्षेत्रमा मात्रै आगो निभाउने काम भइरहेको छ। वनभित्रसम्म पुग्न सक्ने दमकल अभाव रहेको सुवेदीले बताए।
बढ्दो खडेरीका कारण डढेलो थप फैलिने जोखिम रहेको जनाउँदै उनले निकट भविष्यमा पानी नपरे अवस्था झन जटिल बन्न सक्ने चेतावनी दिए। जिल्लामा करिब ५० हजार हेक्टर वन क्षेत्र रहेको बताइएको छ।
वन कार्यालयले डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि केही व्यक्तिको लापरवाहीका कारण आगलागी बढिरहेको जनाएको छ।
यसैबीच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
उता, नहरमा फसेका चार वटा चित्तललाई स्थानीयले उद्धार गरेका छन्। खडेरीका कारण पानी खान पुगेका चित्तल नहरमै फसेका थिए। हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाएका छन्।








