
१४ माघ,
बाँके । जिल्ला बाँकेको डुडुवा गाउँपालिका–३, बनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे शवको पहिचान खुल्नुका साथै उक्त घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ माघ १ गते बिहान करिब १०:२४ बजे बनकट्टी गाउँमा रहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि स्थानीय प्रहरी टोलीले इनारहरू चेकजाँच गरेको थियो। सो क्रममा राम फेरन कुर्मीको घर पछाडि वर्षौंदेखि प्रयोगमा नरहेको इनारभित्र सडिगली सकेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको थियो।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बलको सहयोगमा शव इनारबाट बाहिर निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो।
विभिन्न प्रविधि तथा अनुसन्धानका आधारमा शवले लगाएको कपडा र गहना पहिचान गर्दा मृतक डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरी बसन्ती गोडिया भएको पुष्टि भएको प्रहरीले जनाएको छ। मृतकका परिवारजनलाई बोलाई कपडा तथा गहनाका आधारमा औपचारिक सनाखत गरिएको थियो।
प्रहरीका अनुसार शवको अवस्था हेर्दा घटना करिब एक महिना अघिको हुन सक्ने देखिएको छ। पोष्टमार्टम रिपोर्टमा टाउको र घाँटीमा गम्भीर चोट (Chop injury to Neck and Head) रहेको उल्लेख गरिएको छ, जसबाट बसन्ती गोडियाको कर्तव्य गरी हत्या गरिएको पुष्टि भएको छ।
गाउँमा महिला हराएको उजुरी प्रहरीमा नआएको भए पनि, परिवारले बसन्ती केही समयदेखि भारतको नानापारा स्थित मामा घर गएको भन्ने बताउँदै आएको थियो। तर अनुसन्धानका क्रममा मामा रामजेश गोडियासँग सम्पर्क गर्दा उनी त्यहाँ नगएको खुलेपछि थप शंका उत्पन्न भएको थियो।
प्रहरी अनुसन्धानबाट मृतकले मोबाइल प्रयोग गर्ने गरेकी र पुष १ गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको पुष्टि भएको छ। सोही दिनदेखि उनी घरमा पनि नफर्किएको परिवार स्रोतले जनाएको छ।
गाउँ–घर, छरछिमेक र प्रविधिको प्रयोगबाट अनुसन्धान गर्दा बसन्ती गोडियाको छिमेकमै बस्ने एक युवकसँग प्रेम सम्बन्ध रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
शंकित व्यक्तिमाथि निगरानी तथा सोधपुछ गर्दा उनले प्रेम सम्बन्धमा खटपट भएपछि योजनाबद्ध रूपमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनास्थल, शवको अवस्था, पोष्टमार्टम रिपोर्ट, अभियुक्तको स्वीकारोक्ति बयान तथा Crime Scene Reconstructionको आधारमा अभियोग पुष्टि भएको छ।
पक्राउ पर्नेमा जिल्ला बाँके डुडुवा गाउँपालिका–३, बनकट्टी बस्ने २५ वर्षका राकेश बर्मा रहेका छन ।
प्रहरीले अभियुक्तलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा मिति २०८२ माघ ११ गते पक्राउ गरी माघ १२ गते बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जनाएको छ।








