१३ माघ,

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमीकमजोरी नगर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै आईजीपी अर्यालले आमनागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरे।

उनले निर्वाचन लक्षित सुरक्षा योजनालाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए। कमजोर कमाण्ड तथा गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी दिँदै उनले सबैलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारीमा खटिएका अधिकृतले पदीय मर्यादा विपरीत आचरण गरेमा तुरुन्तै कारबाही गरिने स्पष्ट पारे। साथै निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालित गर्न निर्देशन दिए।

संगठनको नीति र सोचअनुसार कार्यक्षेत्रमा खटिँदा सबै सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रिय हुनुपर्नेमा उनले जोड दिए। राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

आईजीपी अर्यालले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिँदै सीमा क्षेत्रमा खटिएका इकाइहरूलाई गस्ती, पेट्रोलिङ तथा अपरेशनल गतिविधि अझ सशक्त रूपमा सञ्चालन गर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित ख