
७ माघ,
बाँके । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (बुधबार) उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको हो। प्राप्त उजुरीमाथि जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेसम्म आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।
यस्तै, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष उम्मेदवार छन्। साथै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जानकारी दिएको छ।








