२६ पुस,

बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको अपहरण तथा सामूहिक बलात्कारको घटनाका दोषीहरूलाई जुनसुकै हालतमा कडा कानुनी सजाय दिन संघीय लोकतान्त्रिक गठबन्धनले जोडदार माग गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानविरुद्ध बालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको उजुरी दर्ता भएको छ। यस अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै गठबन्धनले यो घटना संविधान, कानुनको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको सिधा आक्रमण भएको ठहर गरेको छ।

जारी प्रेस विज्ञप्तिमा गठबन्धनले अपराधीको कुनै जात, धर्म वा राजनीतिक दल नहुने स्पष्ट पार्दै दोषीलाई कुनै पनि बहानामा उम्कन नदिन सरकारलाई सचेत गराएको छ। अपराधीले जातीय, धार्मिक वा राजनीतिक संरक्षण पाएमा समाजमा दण्डहीनता बढ्ने र न्याय मर्ने चेतावनीसमेत दिइएको छ।

कसैले पद, पहुँच वा शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिन खोजेमा त्यस्तो व्यक्तिलाई समेत अपराधको समान मतियार मानी कारबाही गर्नुपर्ने गठबन्धनको निष्कर्ष छ। यो घटनाले राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको पनि गठबन्धनले जनाएको छ।

न्यायका लागि पाँच बुँदे माग अघि सार्दै गठबन्धनले आरोपित सबैलाई तत्काल पक्राउ गरी पारदर्शी र निष्पक्ष अनुसन्धान गर्न, पीडित बालिकालाई निःशुल्क उपचार, कानुनी सहायता तथा आवश्यक सुरक्षा उपलब्ध गराउन आग्रह गरेको छ।

साथै मानवअधिकारवादी संस्थाहरूलाई घटनाको सक्रिय निगरानी गर्न आह्वान गर्दै यौनजन्य अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न राज्यको ध्यानाकर्षण गराइएको छ। पीडितले न्याय नपाएसम्म सडकदेखि सदनसम्म संघर्ष जारी राख्ने चेतावनीसमेत गठबन्धनले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख