२२ पुस,

बाँके । सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका अनुसार भर्ना हुने निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना परिचालन गरिनेछ ।

स्वीकृत मापदण्डअनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइनेछ भने ३० दिनसम्म कार्यस्थलमा खटाइनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक तथा अन्य सेवा–सुविधा उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिनेछ ।

रासन, मासिक तलब तथा पोसाकबापतको सम्पूर्ण रकम सम्बन्धित व्यक्तिको बैंक खातामै जम्मा गरिने व्यवस्था गरिएको छ । म्यादी प्रहरी छनोटपछि आउने–जाने तयारी खर्चबापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ र चार दिनको खाजा खर्च एकमुष्ट १२ सय रुपैयाँ प्रदान गरिनेछ ।

पोसाक भत्ता हिमाल, पहाड, तराई तथा मधेश क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख गरिएको छ । नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि नीलो डांग्री कपडा र टोपी अनिवार्य गरिएको छ भने सशस्त्र प्रहरी बल मातहत खटिनेका लागि सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा तथा टोपी प्रयोग गर्नुपर्नेछ ।

निर्वाचन अवधिमा नियमित सुरक्षामा खटिने जनशक्तिलाई पनि निर्वाचन प्रहरीसरह १२ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ ।

मापदण्डअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति गठन हुनेछ । इच्छुक व्यक्तिले जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको हकमा जिल्लास्थित गण वा गुल्ममा निवेदन दिन सक्नेछन् ।

१८ वर्षदेखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन प्रहरी भर्नासम्बन्धी मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख