१९ पुस,

बाँके । बाँकेमा पुसको सुरुवातसँगै अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । पुस लागेपछि लगातार घाम नलाग्दा चिसो बढ्दै गएको छ, जसको प्रत्यक्ष असर विपन्न, मजदुर तथा खुला स्थानमा बसोबास गर्ने वर्गमा बढी परेको छ ।

चिसोको बढ्दो प्रभावलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा राहत वितरण कार्य सुरु गरेका छन् । सर्वसाधारणलाई चिसोबाट जोगाउने उद्देश्यले नेपाली सेनाको बज्रदल गण राँझाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । गणले खजुरा, पुरैना, फूलटेक्रा, आलानगरलगायत जिल्लाका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ ।

बज्रदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले मानवीय सेवाको भावनाअनुसार चिसोबाट प्रभावित नागरिकलाई राहतस्वरूप दाउरा सहयोग गरिएको जानकारी दिनुभयो ।

नेपाली सेनासँगै स्थानीय तहले पनि दाउरा वितरणलाई तीव्रता दिएका छन् । उपलब्ध ६४ चट्टा दाउरामध्ये नरैनापुर गाउँपालिकाले १० चट्टा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाले दुई/दुई चट्टा दाउरा वितरण गरिसकेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले पनि दाउरा वितरण कार्य सुरु गरेको छ ।

दाउरासँगै विभिन्न पालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै कम्बल वितरण अभियानलाई पनि निरन्तरता दिएका छन् । हालसम्म जिल्लाभर एक हजार ८० थान कम्बल वितरण भइसकेको छ । जसअनुसार जानकी गाउँपालिकामा सबैभन्दा बढी ८ सय थान, राप्तीसोनारीमा १८० थान तथा कोहलपुर र खजुरामा ५०/५० थान कम्बल वितरण गरिएको छ ।

बैजनाथ गाउँपालिकाले समेत कम्बल वितरण प्रक्रिया सुरु गरिसकेको छ भने जिल्लाभर हाल एक हजार ७८० थान कम्बल मौज्दात अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । समितिका अनुसार चिसो तथा शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दै सोहीअनुसार काम भइरहेको छ ।

समितिको प्रक्षेपणअनुसार यस वर्ष बाँकेमा करिब ३६ हजार घरपरिवारका एक लाख ७६ हजार मानिस चिसो र शीतलहरबाट प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

चिसोको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सर्वसाधारणका लागि सावधानीका सन्देश पनि जारी गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन तथा तातो झोलिलो खानेकुराको सेवन बढाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख