
१८ पुस,
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आसोज देखि मंसीर सम्मको अवधिमा गरेको कारबाहीको विवरण सार्वजनिक गरेको छ। सो अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका ३२३ वटा मुद्दा दर्ता भई ४७६ जना व्यक्तिहरु पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालत फैसला कार्यान्वयनतर्फ १२१ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने रु.९६७५०७४/- जरिवाना असुल गरिएको छ। यस्तै, ट्राफिक कारबाहीबाट रु. ४०,४०,०००/- राजस्व संकलन गरिएको छ।
अवैध कारोबार नियन्त्रणका क्रममा अवैध मालसामान रु. १,०८,८४,९६८/- बराबरको बरामद गरिएको छ। साथै अवैध पशुपन्छी तस्करीनियन्त्रण गर्दै रु. १०,६७,२५/- बराबरको क्षति न्यूनीकरण गरिएको प्रहरीले जनाएको छ।
लागू औषध सम्बन्धी कारबाहीमा ६२ मुद्दा दर्ता भई ८९ जना (८३ पुरुष र ६ महिला) पक्राउ परेका छन्। अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न व्यक्तिहरुबाट रु. १,७०,०००/- जरिवाना असुल गरिएको छ।
त्यसैगरी, ठाडो उजूरीमा ४०९ निबेदन परेकोमा १४१ मिलापत्र गराइएको छ । हराएका ४५ थान मोबाइल फोन तथा ६ थान मोटरसाइकल समेत फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शान्ति सुरक्षालाई थप मजबुत बनाउँदै अपराध नियन्त्रण र कानून कार्यान्वयनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।








