
८ पुस,
बाँके । छिटो र सजिलै धन कमाउने लोभले मानिसलाई कहिलेकाहीँ गम्भीर समस्यामा पार्ने गरेको पछिल्लो उदाहरण सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट सार्वजनिक भएको छ।
कञ्चनपुरको वेदकोट नगरपालिका–१ निवासी यज्ञराजलाई ह्वाट्सएपमार्फत आएको फोनमा पुरानो घर भत्काउँदा सुनको इँटा फेला परेको र त्यसको आधा हिस्सा बिक्री भइसकेको भन्दै बाँकी आधा हिस्सा बेच्न चाहेको प्रस्ताव गरिएको थियो। उक्त सुनको इँटा किन्न २० लाख नेपाली रुपैयाँ लिएर आउनुपर्ने भन्दै फोन गर्ने व्यक्तिले यज्ञराजलाई एउटा ठेगानासमेत पठाएका थिए।
चार दिनअघि यज्ञराज आफ्नी पत्नीसहित सोही ठेगानामा पुगे। आफूसँग २० लाख रुपैयाँ नभएको तर सुन किन्न इच्छुक रहेको भन्दै उनले मूल्य घटाउन आग्रह गरे। त्यसक्रममा दुई भारतीय नागरिकले उनलाई डरधम्की दिँदै आफूसँग भएको रकम लिएर फरार भएका थिए।
ठगीमा परेपछि यज्ञराजले भारतीय प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धान थालेको भारतीय प्रहरीले जैनुद्दीन अली र रिजवान खाँ नाम गरेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पक्राउ परेका व्यक्तिहरूको साथबाट एक लाख २५ हजार नेपाली रुपैयाँ, एउटा पल्सर मोटरसाइकल र ३२२ ग्राम नक्कली सुनको इँटासमेत बरामद गरिएको छ। दुवै आरोपितविरुद्ध भारतीय प्रहरीले कानुनी कारबाही अघि बढाएको जनाएको छ।
यस घटनाले छिटो धन कमाउने लालचमा परेर अपरिचित व्यक्तिको प्रस्तावमा विश्वास गर्दा ठगीमा पर्न सकिने भन्दै सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।








