
२१ कात्तिक,
सुरज चौधरी/बाँके । कोहलपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी पुजा रानालाई नगदसहित सम्मान गरेको छ ।
नगरपालिकाले मंगलबार एक कार्यक्रम आयोजना गरी साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी पुजा रानालाई ५१ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले टिका र माला लगाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा कोहलपुर नगरपालिका वडा १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले स्वागत मन्तब्य राखेका थिए ।

कोहलपुरका नगर प्रमुख आचार्यले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी पुजा राना लगायत सम्पूर्ण खेलाडीलाई बधाई दिँदै यस्ता थुप्रै खेलाडीहरूको उत्पादन, प्रवर्धन एबम् संरक्षण कोहलपुरका विद्यालयहरुबाट भइरहेको बताए । उनले भने ” पछिल्लो समय कता कता खेल क्षेत्रमा लागेपछि पढाइमा डिस्टर्ब हुने मानसिकता हावी भएको वा अरु कुनै कारणले हुन आहिले विद्यालय क्षेत्रबाट खेलाडी उत्पादनमा कमी हुनुको अनुभूति पनि हामीलाई भएको छ, शिक्षा र खेल एकअर्काका पूरक हुन्” ।

आचार्यले टोल, समुदाय, वडा, पालिका भित्र लुकेका प्रतिभाहरूको पहिचान गरी तिनीहरूको प्रोत्साहनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न समेत आग्रह गरे । साथै आउने दिनहरूमा पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
यस्तै उपप्रमुख संगीत सुवेदीले शारिरिक र मानसिक विकासका लागि खेल अति नै महत्त्वपूर्ण रहेको भन्दै कोहलपुरमा खेलकुद विकासका लागि नीति कार्यक्रम तथा बजेट विनियोजनमा उत्साहका साथ ल्याउने प्रतिबद्धता जाहेर गरिन् ।

उक्त कार्यक्रममा कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उप प्रमुख संगीत सुवेदी, नगर खेलकुद विकास समिति संयाेजक चक्र क्षेत्री, पालिकाका सम्पूर्ण वडाका वडाधक्ष्य लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिले समेत फुटबलर पूजा रानालाई सम्मान गरेको थियो ।






