
२७ चैत,
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताए।
उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए। उनले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानुनी कठघरामा लानुपर्ने बताए।
उनले भने, ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ। तपाईहरु सचेत रहनुस्। यो सरकारलाई सचेत गराउन चाहन्छु। सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन्। सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ।’
सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरे। मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गरे।
उनले भने, ‘वर्षायाम आइसक्यो। धान रोप्ने बेला भइसक्यो। जिल्लामा मलखादहरु पुगिरहेको छैन। यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्यो। राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्ने कुरा पटकपटक आइरहेको छ। यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्यो। नत्र योपालि बजेट पास हुन गाह्रो होला।’
उनले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र स्थापना हुने पनि दाबी गरे।





