
१२ कार्तिक,
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं.५ को वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा रांगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्ने विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नगरपालिका वडा नं.१० का सन्तोष त्रिपाठी, लिखु गाउँपालिका वडा नं.३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन्।
प्रहरीका अनुसार, गएराती विदुर नगरपालिका वडा नं.४ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।





