
सुर्खेतमा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका दुई जना सुरक्षाकर्मीसहित चार जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर रहेका छन्। उनीहरूसँगै वीरेन्द्रनगर नगरपालिका–१३ निवासी २७ वर्षीय कुमारबहादुर रास्कोटी र वडा नम्बर १२ निवासी ३१ वर्षीय बलराम पौडेल पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सुरक्षाकर्मी दुवै जना सशस्त्र प्रहरी बलको नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत रहेको खुलेको छ। चालिसेको साथबाट सशस्त्र प्रहरीको परिचयपत्र र घर्ती मगरको साथबाट नियुक्तिपत्रसमेत फेला परेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा लागुऔषध खरिद–बिक्रीको सम्बन्ध खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको जनाएको छ।
नोट: पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।
BankeUpdate.com
ताजा, सत्य र विश्वसनीय समाचार।










