
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नेतृत्व तहमा एउटै ब्याचका चार जना अधिकारी पुग्न सफल भएका छन्। २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका अधिकारीमध्ये चार जनाले दुवै सुरक्षा संगठनको सर्वोच्च नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।
२०५४ सालमा नेपाल प्रहरीले ३० जना प्रहरी निरीक्षकका लागि भर्ना खुलाएको थियो। उक्त वर्ष पहिलोपटक लोकसेवा आयोगले प्रहरी निरीक्षक पदको परीक्षा सञ्चालन गरेको थियो। माग गरिएको ३० जनाको तुलनामा २९ जना मात्रै उत्तीर्ण भएका थिए। त्यही ब्याचमा रहेका डा. मनोजकुमार केसी बुधबार नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्।
यस ब्याचको अर्को विशेष उपलब्धि भनेको एउटै ब्याचबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल दुवै संगठनको नेतृत्वमा चार जना पुग्नु हो।
नेपाल प्रहरीका नवनियुक्त आईजीपी डा. मनोजकुमार केसी र पूर्वआईजीपी दानबहादुर कार्की यही ब्याचका हुन्। त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका वर्तमान महानिरीक्षक नारायणदत्त पौडेल र निवर्तमान महानिरीक्षक राजु अर्याल पनि यही ब्याचका अधिकारी हुन्।
उनीहरू २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए भने २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण भएका थिए।
यसै ब्याचबाट राजन अधिकारी नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पुगेका छन्। त्यस्तै दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, गोविन्द थपलिया, सुदर्शन कोइराला, अरुण पौडेल र दीपक रेग्मीलगायतका अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत छन्।
एउटै ब्याचबाट चार जना प्रहरी महानिरीक्षक उत्पादन हुनु सुरक्षा निकायको इतिहासमा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। यसले २०५४ सालको प्रहरी निरीक्षक ब्याचलाई संगठनभित्रको प्रभावशाली र सफल ब्याचका रूपमा स्थापित गरेको छ।
BankeUpdate.com | बैंक अपडेट मिडिया










