
बाँकेको कोहलपुर नगरपालिका ले भूमिहीन सुकुम्बासी परिवारका लागि अस्थायी होल्डिङ सेन्टर व्यवस्थापन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै विभिन्न वडामा रहेका सार्वजनिक तथा सामुदायिक भवनलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने जनाएको हो।
नगरपालिकाका अनुसार वडा नं. ११ मा रहेको नयाँ बसपार्क टर्मिनल भवन, नगर विकास समितिको भवन, बाहिरी भागका खाली संरचना लगायतका स्थानलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिनेछ। त्यस्तै वडा नं. १०, १२, १४ लगायत अन्य वडामा रहेका सामुदायिक भवन तथा स्वास्थ्य चौकी भवन समेत सूचीमा समावेश गरिएको छ।
नगरपालिकाले होल्डिङ सेन्टरमा बसोबास गर्ने परिवारका लागि आधारभूत व्यवस्थापन, सुरक्षा तथा आवश्यक समन्वय गर्ने जनाएको छ। सूचना अनुसार व्यवस्थापन कार्यमा सम्बन्धित वडा कार्यालय, नगर प्रहरी तथा अन्य सरोकारवाला निकायलाई समेत परिचालन गरिनेछ।
यस निर्णयलाई लिएर स्थानीय तहमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले भूमिहीन तथा सुकुम्बासीलाई अस्थायी राहत दिने सकारात्मक कदम भनेका छन् भने केहीले दीर्घकालीन समाधान बिना अस्थायी व्यवस्थापन मात्रै पर्याप्त नहुने टिप्पणी गरेका छन्।
नगरपालिकाले आवश्यक समन्वय तथा थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा नगर कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।





