
२४ बैशाख,
बाँके । कोहलपुर नगरपालिकाले भूमिहीन सुकुम्बासीका लागि होल्डिङ सेन्टर व्यवस्थापनसम्बन्धी सूचना जारी गरेको छ।
नगरपालिकाले वडा नं. ११ नगर विकास समितिको मातहत रहेको क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराउने कार्यसँगै प्रभावित परिवारलाई अस्थायी व्यवस्थापन गर्न विभिन्न स्थानमा होल्डिङ सेन्टर तोकेको जनाएको हो।
सूचनाअनुसार वडा नं. २ देखि १४ सम्मका विभिन्न सामुदायिक भवन, विद्यालय भवन तथा खाली संरचनालाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिनेछ। नगरपालिकाले २०० भन्दा बढी परिवार हुने अवस्था आएमा गेस्ट हाउसलाई समेत भाडामा लिएर होल्डिङ सेन्टरको रूपमा प्रयोग गरीने जनाएको छ।
होल्डिङ सेन्टर व्यवस्थापन तथा समन्वयका लागि सम्बन्धित उपसमिति र नगर प्रहरीलाई जिम्मेवारी दिइएको सूचनामा उल्लेख छ।









