३ चैत्र,

बाँके । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद इस्तियाक राईले चुनावका बेला गरेको एउटा प्रतिबद्धता पूरा गरेका छन्।

नेकपा (एमाले)बाट निर्वाचित राईले चुनावअघि आफू विजयी भए १५ दिनभित्र मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गरेर निशुल्क जग्गाधनी प्रमाण–पूर्जाको श्रेस्ता कायम गराउने बताएका थिए। सोही प्रतिबद्धताअनुसार उनले प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गरेका हुन्।

हेल्प डेस्कको उद्घाटन गर्दै सांसद राईले हाल जनशक्ति अभाव रहेकाले आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा लिन आग्रह गरे।

उनले भने, “अहिले जनशक्ति कम छ। जससँग पैसा छैन, उनीहरूले सेवा लिनुहोस्। जनशक्ति बढाएपछि सबैलाई समेट्नेछौं।”

जेनजी आन्दोलनका बेला धेरै लालपूर्जा जलेपछि अहिले त्यसलाई पुनः बनाउन मालपोत कार्यालयमा सेवाग्राहीको भीड लागेको छ। जग्गाधनी लालपूर्जाको श्रेस्ता कायम गर्न लेखापढी व्यवसायीले सामान्यतया २ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको पाइन्छ। तर, हेल्प डेस्कबाट सेवा लिँदा भने यस्तो शुल्क लाग्दैन।

हेल्प डेस्क उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, मालपोत कार्यालयका प्रमुख चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख