
~ जीवनको अस्तित्व
आमा जोगाऊ मलाई
यो स्वार्थी संसारबाट
जीवनको प्रवाह र गति
मन्द भएको छ
डगमगाइरहेको छ
जीवनको डुङ्गा
कसरी तरूँला म !
यो जीवनको भवसागर
आमा जीवनको प्रवाहले
रूप फेरिरहँदा
म असहाय हुन पुग्छु
आऊ र बचाऊ आमा मलाई !
दयालु र स्नेही हो तिमी
हे आमा पार लगाऊ मलाई
यस निर्दयी संसारबाट
तिम्रो दिव्य रूप देख्न सक्ने
तिम्रो ममताशक्ति बुझ्न सक्ने
सामर्थ्य छैन मेरो
मेरो लालन गर्यो
पालन गर्यो
र गर्यो ताडन पनि
तिम्रै पुरस्कार त हो यो जीवन
तिरस्कार तिम्रो सहन सक्दिनँ म
दया, स्नेह र ममता देऊ
जीवनरूपी डुङ्गालाई पार लाउने
शक्ति र ऊर्जा देऊ ।
सम्पूर्ण सकारात्मकताकी
खानी हो तिमी
अपनत्व र स्नेहकी रानी हौ तिमी
हामी सन्तानका आँखाकी नानी हो तिमी
प्रकृतिले फुर्सदमा निर्माण गरेको
ममताकी सुनखानी हो तिमी
आमा तिम्र अस्तित्वबाट
उपहार पाएको हो मैले पनि ।
मेरो अस्तित्व
आमा! जोगाऊ मलाई
यो जीवनको भवसागरबाट
आमा भन्नु नै जीवन हो
र आमा भन्नु नै
जीवनको अस्तित्व हो ।
खड्गबहादुर बोहरा (नेपालगन्ज, बाँके)












