
३ माघ,
बाँके : आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत समूह चरणका लगातार तीन खेलमा पराजित भएपछि नेपाल सुपर एटमा पुग्ने प्रतिस्पर्धाबाट बाहिरिएको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल वेस्टइन्डिज सँग ९ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। सोमपाल कामीले २६ रनको योगदान दिए भने लोकेश बमले १३ रन जोडे। आसिफ शेख र गुल्शन झाले समान ११/११ रन बनाए।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए। म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट हात पारे।
१ सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५ ओभरमै १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। शाइ होपले सर्वाधिक ६१ रन बनाए भने शीमरोन हिटमेयरले ४६ रन जोडे। ब्रान्डन किङले २२ रन बनाउँदा नेपालका लागि नन्दन यादवले एक विकेट लिए।
यसअघि नेपाल इङ्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटले पराजित भएको थियो। समूह चरणमा लगातार दोस्रो हारपछि नेपालमाथि आजको खेल जित्नै पर्ने दबाब रहेको थियो।
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो।












