
२२ माघ,
बाँके । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र UNOPS नेपालका Country Manager कोमल कार्कीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड १४ लाख ७३ हजार १ सय ७ रूपैयाँ ६१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।












