१२ माघ,

बाँके : वैदेशिक रोजगार विभागले पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने घटनाहरू बढ्दै गएको भन्दै सजग रहन आग्रह गरेको छ।

विभागका अनुसार ब्याचलर, कुक तथा विभिन्न सिपयुक्त श्रमिक भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जानेहरू ठगीको उच्च जोखिममा परिरहेका छन्। नक्कली भिसा, झुटा रोजगारीका कागजात बनाइ व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गर्ने गुनासोहरू विभागमा बढ्दै गएका छन्।

विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नलिई जापानमा काम लगाइदिने भन्दै श्रमिक पठाउने गरेको उजुरी आउने गरेको जानकारी दिए।

उनका अनुसार टोकियोस्थित नेपाली दूतावासमा समेत व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पुगेका नेपालीहरूले काम र तलब सम्झौता अनुसार नपाएको, अत्यधिक शुल्क तिराइएको लगायतका उजुरीको चाङ लागेको छ। दूतावासले यस्ता उजुरीलाई व्यवस्थित गर्न वैदेशिक रोजगार विभागलाई पत्राचारसमेत गरिसकेको छ।

दूतावासको पत्रमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका कन्सल्टेन्सी, संस्था तथा व्यक्तिहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जान प्रेरित गरी श्रमिकलाई जोखिममा पारेको उल्लेख गरिएको छ।

विभागले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित संस्थाको वैधता जाँच गर्न, अत्यधिक शुल्क माग्ने दलाल र अनधिकृत कन्सल्टेन्सीबाट टाढा रहन तथा आवश्यक जानकारी विभाग वा सम्बन्धित निकायबाट मात्र लिन श्रमिकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख