२३ पुस,

बाँके । मधेश प्रदेशका धनुषा, पर्सा लगायतका जिल्लामा पछिल्लो समय देखिएका घटनाबाट पाठ सिक्दै बाँके जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा सम्पन्न बैठकले पाँच बुँदे महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो।

बैठकले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, मानव अधिकारकर्मी, हिन्दु तथा मुस्लिम समुदायका अगुवा, पत्रकार र अन्य सरोकारवालालाई सचेत, सतर्क र संयमित भई आपसी समन्वयमा रहन आह्वान गरेको छ। धनुषा र पर्सा लगायतका जिल्लामा भएका जस्तै घटना बाँकेमा दोहोरिन नदिन सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, जाति–धर्म तथा सम्प्रदायबीचको सुसम्बन्ध बिगार्ने, व्यक्ति वा समुदायको चरित्र हत्या गर्ने भ्रामक, द्वेषपूर्ण तथा घृणाजन्य सामग्री सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत उत्पादन, प्रसारण वा सेयर गर्ने व्यक्ति तथा समूहलाई कानूनअनुसार कडा कारबाही गर्ने निर्णय गरिएको छ। यस्ता गतिविधिमा संलग्नको निगरानी, पहिचान र अनुसन्धानमा सबैले सहयोग गर्ने सहमति पनि भएको छ।

त्यस्तै, नेपाल बाहिर वा अन्य जिल्लामा भएका घटनालाई लिएर साम्प्रदायिक रंग दिँदै बाँकेमा कुनै पनि समुदायले विरोध सभा, जुलुस वा प्रदर्शन नगर्ने निर्णय गरिएको छ। आवश्यक परेमा ध्यानाकर्षण तथा खबरदारी विज्ञप्ति वा ज्ञापनपत्रमार्फत मात्र गर्न आग्रह गरिएको छ।

बैठकले धार्मिक याली तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनबाट प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने, यालीको रुट र समय प्रशासनले औचित्यको आधारमा निर्धारण गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। यालीमा हातहतियार प्रदर्शन पूर्ण रूपमा निषेध गरिने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना अनिवार्य गरिने स्पष्ट गरिएको छ।

साथै, आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले समन्वयात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय बाँकेले शान्ति, सद्भाव र लोकतान्त्रिक अभ्यास मजबुत बनाउन यी निर्णयहरू कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख