
२२ पुस
बाँके । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी क्षेत्रमा मान्छे आक्रमण गर्ने बाघको खोजी कार्य तीव्र बनाएको छ। घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरी निरन्तर अनुगमन भइरहेको भए पनि हालसम्म बाघ फेला नपरेको निकुञ्जले जनाएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघ घटनास्थलमा पुनः नफर्किएकाले आहारा खोज्दै अन्यत्र लागेको हुनसक्ने अनुमान गरिएको छ।
उनले भने, “घटनास्थल वरिपरि क्यामेरा जडान गरेर निगरानी गरिरहेका छौँ, तर अहिलेसम्म बाघ देखापरेको छैन।”
गत शनिबार राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएका बेला बाघले आक्रमण गरी मृत्यु भएको थियो। घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलले बाघले जानाजानी आक्रमण नगरी आफ्नो आहारा जोगाउने क्रममा दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने बताए।
उनका अनुसार, “बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो नजिक पुगेपछि आहारा जोगाउने क्रममा आक्रमण भएको हुनसक्छ।”
निकुञ्ज प्रशासनले स्थानीयवासीलाई जंगल क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक सुरक्षा तथा निगरानी कार्यलाई थप प्रभावकारी बनाइरहेको जनाएको छ।








