
२१ भदौ,
कैलाली — कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको जुत्ता–चप्पल गोदाममा गए राति आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार राति करिब २ः४० बजे लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा आगलागी भएको हो। आगो स्थानीयवासी, प्रहरी र लम्कीचुहा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।
लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको उक्त गोदाममा जुत्ता र चप्पल भण्डारण गरिएको थियो। प्रहरीका अनुसार आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
गोदामभित्र कोही नबस्ने भएकाले आगलागी कसरी सुरु भयो भन्नेबारे स्पष्ट हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









