
७ बैशाख,
बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको निरंकुश प्रवृत्तिको विरोधमा शान्तिपूर्ण र प्रतिकात्मक प्रदर्शन गरिने जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले हालको सत्ताले प्रजातन्त्रको नाममा जनताको स्वतन्त्रता सीमित गरिरहेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यो मात्र बोल, यो मात्र गर, यहाँभन्दा एक इन्च पनि नआ भनेर सीमा तोक्नु सरकारको निरङ्कुश व्यवहार हो।
अध्यक्ष लिङ्देनका अनुसार प्रदर्शनमा केवल सीमित नेताहरू सहभागी हुनेछन् र कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न गरिनेछ। साथै उनले राप्रपा आफ्ना क्रियाकलाप खुला रूपमा गर्ने पार्टी भएको र सरकारले यसबाट डराउनु नपर्ने स्पष्ट पारेका छन्।
राप्रपा वैचारिक प्रमुख प्रतिपक्षका रूपमा लिङ्देनले राप्रपालाई वैचारिक दृष्टिकोणले मुलुकको प्रमुख प्रतिपक्षीय शक्ति भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ।
उनका अनुसार यस्ता प्रदर्शनहरूले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रताको संरक्षणमा टेवा पुर्याउने विश्वास गरिएको छ।








