
४ कात्तिक,
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ।
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आइतबार जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र गैह्रापाटनको पालिखेचोकबाट नवीन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो।
यद्यपि, निषेधाज्ञाका बीच पनि रास्वपा कार्यकर्ता र रविका समर्थकहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। नारावाजी र प्रदर्शनका क्रममा बेलाबेलामा प्रहरीसँग धकेलाधकेलसमेत भइरहेको छ। प्रदर्शनको नेतृत्व रास्वपाका शीर्ष नेताहरू उपसभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल आदिले गरेका छन्।






