
१० भाद्र,
बाँके । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाँकेमा विद्यार्थी हकहितको पक्षमा अभियान सञ्चालन गरेको छ ।
अनेरास्ववियुको आन्दोलनबाट प्राप्त मनोरञ्जनका साधनहरुमा ४५ प्रतिशत टिकटमा छुट गर्नुपर्ने माग सहित संगठनले शनिवार नेपालगन्जस्थित फिल्म हलहरुमा ज्ञापनपत्र बुझाएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले जानकारी दिए।
नेपालगन्जस्थित बागेश्वरी चलचित्र मन्दिर र सिने रोयलमा संगठनका केन्द्रीय सदस्य सुमन घिमिरे, दिनेश केसी, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति माधव खत्री लगायत अनेरास्ववियु बाँकेको टिमले ज्ञापनपत्र बुझाएको उनले बताए । आफ्ना माग कार्यान्वयन नहुँदासम्म अभियानलाई निरन्तरता दिने उनको भनाई छ ।
यसैगरी अनेरास्ववियुको आन्दोलनबाट प्राप्त सार्वजनिक यातायातमा ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयनको लागि पनि अनेरास्ववियु बाँकेले प्रक्रिया अगाडि बढाएको छ ।






