
२८ मंसिर,
दाङ । दाङको देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गरे ।
प्रदेश प्रमुख शेरचनले राप्ती गाउँपालिका–३ स्थित देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन पनि गरे । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गरिएको छ ।
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।
स्थायी राजधानी तोकेको दुई वर्षपछि अहिले देउखुरी उपत्यकामा प्रदेश सरकार स्थानान्तरण गर्ने काम भइरहेको छ । मंसिर ९ गते मात्र बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको थियो ।
साविकको राप्ती प्राविधिक शिक्षालयको परिसरलाई प्रदेशको प्रशासनिक केन्द्र बनाइएको छ ।





