
९ बैशाख,
नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले नेपाल पत्रकार महासङ्घ बाँके शाखाको प्रवेशद्वारमा कालो ब्यानर टाँग्दै दबाब अभियान सुरु गरेको छ।
फोनिज बाँकेले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक घोषणा गर्न माग गर्दै केन्द्रीय कार्यक्रमअनुसार कालो ब्यानर टाँगेको हो। स्व. श्रेष्ठले विसं २००८ साल वैशाख ९ गते तत्कालीन नेपाल पत्रकार सङ्घ स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने महत्वपूर्ण योगदान दिएको फोनिजको दाबी छ।
कार्यक्रममा फोनिजका सङ्घीय सदस्य प्रज्वल श्रेष्ठले आदिवासी जनजाति समुदाय विभिन्न कालखण्डमा दबाबमा परेको उल्लेख गर्दै जातीय आधारमा कसैलाई पाखा लगाउन नहुने बताए। उनले सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घले संस्थापकका रूपमा मान्यता दिनुपर्नेमा जोड दिए।
यसैगरी, फोनिजका सङ्घीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज गजेन्द्र गुरुङले स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासङ्घले यथाशीघ्र संस्थापक घोषणा गर्न पहल गर्नुपर्ने बताए। उनले श्रेष्ठलाई संस्थापक मान्ने पर्याप्त आधार रहेको उल्लेख गर्दै सोही आधारमा निर्णय लिनुपर्ने धारणा राखे।
वक्ताहरूले तत्कालीन नेपाल पत्रकार सङ्घ नै वर्तमान नेपाल पत्रकार महासङ्घको आधार भएको दाबी गर्दै इतिहासलाई संस्थागत गर्न सबै पत्रकार एकजुट हुनुपर्ने बताए। उनीहरूले महासङ्घको २७औँ महाधिवेशनको निर्णयअनुसार उच्चस्तरीय छानबिन समिति गठन गरी संस्थापक सम्बन्धी विषय टुंगो लगाउन पनि माग गरेका छन्।
कार्यक्रममा फोनिज लुम्बिनी प्रदेश कोषाध्यक्ष भगतराम थारु, बाँके अध्यक्ष अशोक थापा मगर, उपाध्यक्ष सोम गुरुङ लगायतले वैशाख ९ लाई स्थापना दिवसका रूपमा मान्यता दिन र स्व. सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक घोषणा गर्नुपर्नेमा जोड दिएका थिए।








