२५ भदौ,

बाँके । नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले Gen-Z युवाहरूले थालेको आन्दोलनमा जीवन गुमाएका युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूले देशलाई शान्ति र पुनर्निर्माणतर्फ अघि बढाउन सबै पक्ष संयमित र एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

विज्ञप्तिमा भनिएको छ, देशको सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई नवीन ढंगले सुनिश्चित गर्नु सबैकोसाझा दायित्व हो। यस कठिन घडीमा वार्ता संवादबाटै समाधान खोज्नुपर्छ।

महामन्त्रीद्वयले राष्ट्रपति समक्ष संवादको पहललाई स्वागत गर्दै आन्दोलनरत Gen-Z पुस्ताको भावना अनुसार निष्कर्ष निकाल्न आग्रह गरेका छन्। संविधानको दायराभित्र रहेर वैधानिक उपाय अपनाउनुपर्नेमा पनि उनीहरूको जोड छ।

साथै, सोमबारको प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोगबाट भएका मानवीय क्षतिबारे उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरिएको छ। उनीहरूले प्रधानमन्त्रीले सामाजिक सञ्जाल खोल्ने र पदत्याग गर्ने माग समयमै पूरा नगरेकै कारण स्थिति चर्किएको स्वीकार गर्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा सिंहदरबार, शितल निवास, संसद भवन र सर्वोच्च अदालतसहित सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई निन्दनीय बताइएको छ। त्यसलाई Gen-Z को आधिकारिक माग नभई योजनाबद्ध रुपमा घुसपैठ गर्ने स्वार्थ समूहले गराएको दाबी गरिएको छ।

महामन्त्री शर्मा र थापाले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेतामाथि भएको आक्रमणलाई निन्दा गर्दै, यस घटनाबाट कांग्रेसले आत्मसमीक्षा गर्ने र जिम्मेवार दलका रूपमा पुनर्निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन्।

संविधानका उपलब्धि उल्टिन नदिने युवाको आकांक्षा अनुसार पार्टीलाई जनउत्तरदायी बनाउन प्रतिबद्ध छौं,”विज्ञप्तिमा भनिएको छ।

अन्त्यमा, उनीहरूले सबै नेपालीलाई संयम, संवाद र सामाजिक एकताको भावना मजबुत पार्दै पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख