१ भदौ,

प्युठान । प्युठानमा एकैपटक २५६ जना विभिन्न राजनीतिक दल छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय नागरिक स्वतन्त्र मञ्च बनाएर सक्रिय रहेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली काँग्रेस क्षेत्र ‘क’ का उपसभापति रेशमबहादुर ठेडी, एमालेका दलबहादुर केसीलगायत काँग्रेस, एमाले, माओवादीसहितका दलका नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेको जिल्ला संयोजक विकास पोख्रेलले जानकारी दिए।

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रदेश अध्यक्ष देवराज पाठकले नयाँ प्रवेशकर्ताहरुलाई सदस्यता वितरण गरेका थिए।

सो अवसरमा महामन्त्री बुर्लाकोटीले रास्वपालाई “सबै नेपालीको केन्द्र” का रूपमा अगाडि बढाउने बताउँदै, अब जनताको समस्या समाधानमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गरे। त्यस्तै, प्रदेश अध्यक्ष पाठकले प्युठानमा भएको ठूलो संख्याको प्रवेशले देशव्यापी सन्देश दिएको उल्लेख गर्दै रास्वपा जनलहर फैलिँदै गएको दाबी गरे।

रास्वपाले प्युठानका सबै नौ स्थानीय तहमा संगठन विस्तार भइसकेको जनाएको छ। २०७९ सालको प्रदेश तथा संघीय निर्वाचनमा पार्टीले समानुपातिकतर्फ झण्डै ६ हजार मत ल्याएको थियो भने प्रतिनिधिसभातर्फ उम्मेदवार कृष्ण प्रसाद पोख्रेलले ३ हजार ३१८ मत प्राप्त गरेका थिए।

प्युठानमा एकै मञ्चमा २५० भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न दल त्यागेर रास्वपामा प्रवेश गरेसँगै जिल्लाको राजनीतिमा नयाँ तरंग आएको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख