
१७ साउन,
काठमाडौं – अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संयोजक पदमा दिनेश रेग्मी चयन भएका छन्। विगत सात वर्षदेखि विद्यार्थी राजनीति र संगठनात्मक कार्यमा सक्रिय रेग्मीलाई संगठनले नेतृत्वको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
मेहेनती, इमानदार र जिम्मेवार विद्यार्थी नेताका रूपमा चिनिने रेग्मीले शंकरदेव क्याम्पसमा देखा पर्ने शैक्षिक, प्रशासनिक तथा विद्यार्थी जीवनसँग सम्बन्धित विविध समस्याको समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। विद्यार्थीहरूसँग नजिक रहनु, उनीहरूको समस्या आत्मसात् गर्दै समाधानमा खटिनु रेग्मीको प्रमुख विशेषता रहँदै आएको छ।
संयोजकमा चयन भएपछि रेग्मीले पहिलो प्रतिक्रिया दिँदै भने, “विद्यार्थी हित नै हाम्रो प्राथमिकता हो। म शंकरदेव क्याम्पसका सबै विद्यार्थीको आवाज बन्ने प्रयासमा निरन्तर लागिरहने छु।”
उनको संयोजकत्वमा संगठनले थप ऊर्जा प्राप्त गर्ने विश्वास अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीका सदस्यहरूले व्यक्त गरेका छन्। रेग्मी नेतृत्वमा विद्यार्थीका हकहितका मुद्दा अझ प्रभावकारी ढंगले उठ्ने आशा गरिएको छ।








