
बाँके जिल्लामा पत्रकारिता क्षेत्रको गरिमा र मर्यादामाथि गम्भीर प्रश्न खडा गर्ने घटनाहरू बढ्दै गएका छन्। समाचारको नाममा धम्की दिने, पैसाको सौदाबाजी गर्ने, र व्यक्तिगत स्वार्थसिद्धिका लागि पूर्वाग्राही सामग्री प्रकाशन गर्ने तथा कथित पत्रकारहरूको संख्याले यो क्षेत्रलाई बदनाम गराइरहेको छ।
कतिपय स्वघोषित पत्रकारहरूले समाचार संकलनको बहानामा व्यक्तिहरूलाई धम्क्याउने, व्यवसायी र सरकारी कर्मचारीहरूसँग अवैध रूपमा आर्थिक लाभ उठाउने काम गरेका घटना सार्वजनिक भइरहेका छन्। यस्ता कार्यले वास्तविक पत्रकारहरूको प्रतिष्ठामा क्षति पुर्याइरहेको छ।
समाचार लेखेर वा सार्वजनिक गर्ने डर देखाएर पैसाको बार्गेनिङ गर्ने प्रवृत्ति बढ्दो छ।
कतिपय पत्रकारहरूले प्रमाणबिना सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै मान्छेको प्रतिष्ठामाथि प्रहार गर्ने र त्यसैबाट आफ्नो स्वार्थ साध्ने गरेका छन्।
पत्रकारिताको मूल आधार भनेको निष्पक्षता हो। तर बाँकेमा कतिपय पत्रकारहरूले पूर्वाग्रह राखेर समाचार लेख्ने र प्रकाशन गर्ने काम गरेका छन्।
आफ्ना हित वा सम्बन्धित पक्षलाई फाइदा पुर्याउन पूर्वाग्राही ढंगले समाचार लेखिन्छ।
तथ्यहीन र आधारहीन समाचारमार्फत प्रतिशोध साध्ने काम पनि भइरहेको छ पत्रकारिता पेसाको मानक र आचारसंहितालाई लत्याएर समाचार लेख्ने र प्रकाशन गर्ने कामले यस क्षेत्रको विश्वसनीयतामा आँच पुर्याएको छ।
यस्ता विकृत प्रवृत्तिहरूले बाँकेको वास्तविक र इमानदार पत्रकारहरूलाई पीडित बनाएको छ। उनीहरूको मेहनत र इमान्दारीमाथि प्रश्नचिह्न खडा गरिएको छ। यस्तै गतिविधिले पत्रकारिता क्षेत्रलाई अप्ठ्यारो परिस्थितिमा पुर्याएको छ। साथै बाँकेका केही स्वधोषित पत्रकारहरुले बाँकेको जमुनाह भन्सार, सर्मा गल्ली , चौलिका, बढैया जस्ता ठाउँमा दिनभर बसेर सुरक्षाकर्मी भन्सार कर्मचारीहरूको रेखी गर्ने साँझ परेसी तेल हाल्ने भन्दै पैसा माग्ने गरेको गुनासो व्यापक रहेको छ।
बाँकेको पत्रकारिता क्षेत्रमा देखा परेका यस्ता विकृत प्रवृत्तिहरूले समाजमा गलत सन्देश पुर्याइरहेका छन्। पत्रकारिता भनेको समाजलाई सत्य र तथ्य जानकारी गराउने पवित्र पेसा हो। यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नेहरूप्रति सबै पक्षले चनाखो हुनुपर्छ। पत्रकारिताको नाममा धम्की, बार्गेनिङ, र पूर्वाग्राही समाचार लेख्नेहरूको ठाउँ पत्रकारिता क्षेत्रभित्र हुन सक्दैन। यो समस्यालाई समयमा नै सम्बोधन नगरिए पत्रकारिता क्षेत्रको गरिमा अझै खस्कने खतरा छ।









