
३ जेठ,
बाँके : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्व प्रधानमन्त्री भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।
टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।
सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजीर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोही अनुसार अपराधी मानिएकालाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गरेका छन्।
‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्। क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयॉ र भविष्यमुखी सोंच र मान्यता र विधि स्थापित गर्न खोज्छन्’, भट्टराईले लेखेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्। सलाम।’






