
२५ चैत,
बाँके । लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ ।
बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन ।
‘वैशाख ३० मा हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै लुम्बिनीका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ ।
जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन । साथै अर्को बैठक चैत २७ मा बस्नेछ ।
बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणी चौधरी, जसपाका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका प्रदेश उपाध्यक्ष बद्री आलम उपस्थित थिए।
बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै लैजाने उल्लेख गरेका छन ।





