
१४ फागुन,
बाँके । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।
दुतावासको सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।
हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताका आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरुतर्फ जान सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको विज्ञप्ति द्वारा जनाइएको छ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।










