
१८ बैशाख,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले विगतमा सत्ता लिप्साका कारण धेरै गल्ती गरेको स्वीकार गर्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् भेलामा बोल्दै उनले पार्टीभित्र व्यापक समीक्षा र सुधारको खाँचो औंल्याए।
सभापति थापाले भने, “कांग्रेसले विगतमा सत्ता लिप्साका कारण नगर्नुपर्ने धेरै काम गरेको छ, त्यसलाई धोइपखाली गर्नुपर्छ। साथै, गर्नुपर्ने धेरै काम पनि गर्न सकेको छैन।”
उनले अहिले कांग्रेस आत्मचिन्तनको प्रक्रियामा रहेको बताउँदै आगामी असोजमा हुने महाधिवेशनबाट पार्टीमा व्यापक परिवर्तन गरिने स्पष्ट पारे।
यस्तै, उनले ट्रेड युनियन कांग्रेसलाई श्रमिक अधिकारका विषयमा सक्रिय नेतृत्व लिन पनि आग्रह गरे।








