
१४ बैशाख,
बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर दशबिघा) मा सोमबारदेखि सवारी साधन निशुल्क पार्किङ सेवा सञ्चालनमा आएको छ।
करिब एक करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त पार्किङमा एक सयभन्दा बढी साना सवारीसाधन, तीन सयभन्दा बढी मोटरसाइकल तथा ५५ भन्दा बढी एम्बुलेन्स पार्किङ गर्न सकिने क्षमता रहेको अस्पतालका सूचना अधिकृत रामकृष्ण हमालले जानकारी दिए ।
सूचना अधिकृत हमालका अनुसार टाढाबाट बिरामी बोकेर आउने एम्बुलेन्स चालकहरूका लागि आराम कक्ष समेत निर्माण गरिएको छ, जसले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
नवनिर्मित पार्किङ स्थलको उद्घाटन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का सिइओ सन्तोषकुमार बि.एन.ले गरेका थिए। अस्पतालका निर्देशक प्रा. डा. रेशमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासन प्रमुख सञ्जय पन्तले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य मेट्रोन ललिता शर्माले राखेकी थिइन्।
कार्यक्रममा तीन जना एम्बुलेन्स चालकलाई सम्मान गरिएको थियो भने एम्बुलेन्स चालक संघले पनि अस्पताल, सूचना अधिकृत रामकृष्ण हमाल तथा वरिष्ठ इन्जिनियर कौशल कुमार शुक्लालाई सम्मान गरेको थियो।
उक्त कार्यक्रममा संस्थाका फाइनान्स प्रमुख डिल्ली भुसाल, डा. जितेन्द्र महासेठ, सहायक मेनेजर श्याम धिताल, सुन्दर जंग शाह, वरिष्ठ अधिकृत जयेश जंग शाह, इन्जिनियर सिडी शर्मा लगायत विभिन्न विभागका प्रमुख, चिकित्सक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









