
२२ मांसिर,
बाँके । निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै विगत एक दशकदेखि उडानका लागि निरन्तर पहल हुँदै आएको बताए।
धामीका अनुसार सिधा हवाई उडान सुरु भएमा व्यापार, उद्योग, पर्यटन तथा समग्र आर्थिक गतिविधि चलायमान हुने भएकोले सरकारले नीतिगत तथा कार्यान्वयनका कदम चाल्नुपर्ने माग गरिएको छ। नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार पनि तयार रहेको उनको भनाइ छ।
अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा बनेको हुनाले चाहना हुँदाहुँदै पनि धेरै काम गर्न नसकिने बताए। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार गठन हुने उल्लेख गर्दै वर्तमान सरकार तीन महिनाका लागि मात्रै रहेको स्पष्ट पारे।
“राजनीतिक अवस्था बिगार्ने वा निर्वाचन प्रक्रियालाई बाधा पुर्याउने काम हामीबाट हुँदैन,” उनले भने।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीले नेपाली व्यवसायी मर्कामा परिरहेको बताए।
सङ्घका अध्यक्ष धामीले रुपैडिहा नाकाबाट सामान ल्याउँदा ठूलो मात्रामा भन्सार चुहावट हुने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक ध्यान दिन आग्रह गरे।
सङ्घले विभिन्न मुद्दा समेटिएको २१ बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीमार्फत सरकारलाई बुझाएको छ।












