
दिपेन्द्र थापा क्षेत्री
बाँके , प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले देशमा संविधान र राजनीतिक व्यवस्थाविरोधी गतिविधिहरू बढ्न थालेको भन्दै यसलाई गम्भीर रुपमा लिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यका भित्र रहेका प्रहरी कार्यालय प्रमुखहरूसँगको बैठकमा बोल्दै आईजीपी थापाले आउँदो जेठ १५ गते राजावादी समूहले गर्ने भनिएको प्रदर्शनलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन निर्देशन दिए।
उनले भने, “कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ।” यस्तै प्रदर्शनको समयमा हुन सक्ने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै सबै प्रहरी युनिटहरूलाई तयारी अवस्थामा रहन आग्रह गरे।
पछिल्लो समय प्रहरी संगठन भित्रै देखिएको अनुशासनहीनता र कर्मचारीबीचको झैझगडाबारे पनि आईजीपी थापा गम्भीर देखिए। उनले ड्युटीको क्रममा वा कार्यालयको कामका सिलसिलामा प्रहरी कर्मचारीहरूबीचको हातपात र अनुशासनविहीन व्यवहार संगठनको मर्यादाविपरीत रहेको बताए।
“विशेषगरी पब्लिकको अगाडि ठूलो दर्जाका अफिसरले सानो दर्जाका कर्मचारीमाथि हातपात गर्नु अत्यन्तै लज्जास्पद कुरा हो,” उनले भने।
नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरद्वारा सिभिल प्रहरीमाथि हातपात भएको घटनाको उल्लेख गर्दै थापाले यसले संगठनको छविमा नकारात्मक असर पारेको बताए। गलत कार्य गर्ने प्रहरीलाई निश्चित कारबाही प्रक्रिया अनुसार सजाय हुने भए पनि सार्वजनिक रूपमा हिंसात्मक प्रतिक्रिया दिनु अनुचित भएको उनले स्पष्ट पारे।
थापाले संगठनभित्रको अनुशासन कायम राख्न र बाह्य चुनौतीहरूप्रति सजग रहन सबै तहका प्रहरी अधिकारीहरूलाई गम्भीर भएर भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।










